२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

ट्राफिक प्रहरी भन्छ

काठमाडौँ उपत्यका  : "  सवारी  दुर्घटना र मानवीय क्षति घट्यो "

शनिवार , श्रावण १२, २०८१

 


काठमाडौँ, साउन । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । 

आर्थिक वर्ष २०७८/७९ मा १० हजार ७३३ सवारी दुर्घटना हुँदा  १९१ जनाको मृत्यु भएको थियो । 

आव २०७९/ ८० मा १० हजार ६७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आवमा आठ हजार ८८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।  

उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो । 

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उनले जानकारी दिए । 

चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए ।  

जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ । 

ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म चार लाख ७७ हजार तीन सय ती जना प्रत्यक्षरुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीले मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्र गतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । 

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख सङ्कलन गरेको छ । 

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र कोरिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले  यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।  
रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार