काठमाडौँ, साउन । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ ।उनी मुख्य सचिव बनेसँगै नेपालको प्रशासनिक क्षेत्रमा महिला मुख्यसचिव बनेर ईतिहास बनाएकी छन ।
निजामती सेवाका क्षेत्रमा महिला मुख्य सचिव बनेको यो पहिलो पटक हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको जानकारी दिएका छन ।
यसअघि उनलाई असार ३१ गते निमित्त मुख्य सचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
२०२३ साल भदौ १५ मा तेर्हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् ।
उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।
शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्य सचिव बनेकी हुन् ।
भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका थिए ।
उनलाई राष्ट्रिय योजना आयोगमा अतिरिक्त पद सिर्जना गरी जिम्मेवारीमुक्त गरेसँगै मुख्यसचिवको निमित्त जिम्मेवारी गड्तौलालाई दिइएको थियो ।