२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुरक्षा निकाय

गृहमन्त्री लेखकले भने  : " सुरक्षासम्बन्धी कानुन संशोधन आवश्यक छ "

शनिवार , श्रावण ५, २०८१

 

काठमाडौँ, साउन ।  गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रम सँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । 

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए । 'राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योगदान छ ।' 

'प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ,' उनले भने । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको मन्त्री लेखकको भनाइ थियो ।

२३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको स्मरण गरे । 

'सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा संगठनको धेरै योगदान छ,' उनले भने ।

निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताए । 'सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ,' उनले भने ।

सीमित साधन स्रोतका बीचमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा तदारुकता देखाएको उनले बताए । 

उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले सशस्त्र प्रहरीलाई निर्देशन दिए । विपद्का समयमा अहोरात्र खट्न उनले आग्रह गरेका थिए ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताए । 

सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उनले उल्लेख गरेका थिए ।  सीमा सुरक्षा बलसँग सम्बन्धित कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार