काठमाडौँ, असार । कांग्रेस र एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनसमेत गर्ने सहमति भएको उल्लेख गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानका मूल तत्वलाई कमजोर नगरिने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै लेखकले संविधान संशोधनबारे गलत भाष्य स्थापना गर्न खोजिएको पनि बताए ।
' संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरेर संविधानको समीक्षा गर्ने, यसमा प्रारम्भ गरिसकेपछि अभ्यासमा के राम्रा पक्ष देखिएका छन् र के जटिलता देखिएका छन्, यसको मूल्यांकन गरेर आवश्यकताअनुसार संविधान र कानुनको परिमार्जन गर्न संशोधन गर्ने भनेको हो ।
संविधानको संशोधन भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यलाई थप सुदृढ गर्नका लागि हो । संविधान संशोधनको कुरा पश्चगमन होइन, अग्रगमनका लागि संविधानलाई थप उन्नत बनाउन गर्ने हो,ु लेखकले भने, 'संघीयता, गणतन्त्र, लोकतन्त्र कमजोर गरिने छैन । '
समावेशिता र विभिन्न तह र तप्काबाट प्रतिनिधित्व हुने व्यवस्थालाई कमजोर गर्ने कुनै काम गरिने छैन । यस्ता खालका गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्न चाहन्छौं ।'
संविधान संशोधन नै गर्न नहुने पुस्तक नभएको लेखकको भनाइ थियो । संविधान जारी भएको ८ वर्ष पुगिसकेको र १० वर्ष पुगेपछि कतिपय व्यवस्थामा पुनर्विचार गर्नुपर्ने विषय संविधानमै उल्लेख गरिएको पनि लेखकको भनाइ थियो ।
'संविधान प्रारम्भ भएको ८ वर्षभन्दा बढी समय भइसक्यो । संविधान भनेको कुनै निर्जिव वस्तु होइन, जड दस्तावेज होइन । संविधान भनेको निरन्तर रूपले चलायमान हुने दस्तावेज हो,' उनले भने, 'संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता यो संविधानका मुख्य तत्व हुन्, यो संविधानका स्तम्भ हुन् ।
त्यसलाई हामी मजबुद गर्न चाहन्छौं, थप सुदृढ गर्न चाहन्छौं, व्यवहारमा कार्यान्वयन गर्न चाहन्छौं संविधान संशोधनमार्फत राजनीतिक स्थिरताको सुनिश्चितता गर्नुपर्ने लेखकको भनाइ थियो ।
संविधानको समीक्षा गरेर थप बलियो बनाउन कांग्रेस र एमाले तयार भएको बताउँदै उनले आगामी दिनमा अन्य राजनीतिक दलहरूलाई पनि संलग्न गराउने बताए ।
संविधान एक वा दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताउँदै लेखकलले कांग्रेस र एमालेले पहलकदमी मात्रै लिएको जिकिर गरे - कान्तीपुरबाट