काठमाडौँ, असार । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाइहरू हुनुहुन्छ । अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ ।
भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् ।
त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाईंहरू आदिवासी, जनजाति दिदिबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ ।
आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरुका मागहरु पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु,’सभापति देउवाले भने ।