२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सूर्यबहादुर थापा नवौँ स्मृति दिवस

सभापति देउवाले भने : " लोकतान्त्रिक गणतन्त्र सुदृढ र सबल बनाऔँ "

आइतवार , बैशाख २, २०८१

 

काठमाडौँ, वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन ।  

पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताए । 

“अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भने । 

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि बताए ।  

उनले भने, “अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति  हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो ।  त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन् ।”

सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहोनीले कुशल राजनीतिज्ञ स्व थापा बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्नुभयो । 

उनले अहिलेको अवस्थामा मुलुकलाई सही दिशा दिन सबै राजनीतिक शक्ति एकताबद्ध भएर जानुपर्ने धारणा पनि राखे । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंहकेसीले मुलुकको राजनीतिक र प्रशासनिक क्षेत्रमा स्व थापाको उल्लेखनीय योगदान रहेको बताए ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन स्व थापाको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँले अवलम्बन गरेको दृष्टान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले सादगी जीवन, उच्च विचार भएको राजनीतिज्ञ थापाले मधेश र मधेशी जनताको अधिकारका निम्ति बारम्बार आवाज उठाएको स्मरण गरे । 
     
सो कार्यक्रममा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्रा लोकराज बराल, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्लेलगायतले स्वर्गीय थापा एक कुशल राजनीतिज्ञ रहेको चर्चा गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार