२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रियसभा  बैठक 

 संसदमा सांसद बस्नेतले भने  : ' विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो '

बुधवार , चैत्र २१, २०८०

 

काठमाडौँ, चैत । राष्ट्रियसभाको आजको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने वित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरुले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।  

सभाको विशेष समयमा उनले तोकिएकै पसलमा पोशाक र पुस्तक किन्नैपर्ने, भर्ना शुल्क तिर्नैपर्ने बाध्यकारी व्यवस्था गरिएको, वार्षिक शुल्कका नाममा अनावश्यक शुल्क उठाइएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले चासो नदिएको बताए । 

निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अभिभावक र विद्यार्थीलाई चर्को मारमा पारेका भएपनि अनुमगनमा ध्यान नदिएको उनको आरोप छ ।

सांसद तुलसाकुमारी दाहालले रोजगारी र अवसरको खोजीमा सहरी क्षेत्रमा रहेका स्वरोजगार पेशामा संलग्न व्यवसायी र श्रमिकलाई समस्यामा पारिएकामा सरकारको ध्यानाकर्षण गराए ।  

काठमाडौँ महानगरपालिकाले स्वरोजगार श्रमिकलाई ज्यादती गरेको, पेशा व्यवसाय गर्न अवरोध गरेको, समस्या समाधान गर्ने भन्दा बल्झाउने काम गरेकामा उनले गुनासो  गरे । 

सांसद पदमबहादुर परियारले विद्यार्थी भर्ना अभियानका नाममा शैक्षिक क्षेत्रमा अराजकता फैलिएको उल्लेख गर्दै विद्यालय नै पुग्न नसकेका हिमाली, पहाडी तथा तराई क्षेत्रका बालबालिकालाई पनि मूल प्रवाहमा ल्याउनुपर्ने बताए । 

राष्ट्रियसभामाथि विभेद किन ?
सांसद झक्कुप्रसाद सुवेदीले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन नपाउने व्यवस्थाका कारण राष्ट्रियसभा र प्रतिनिधिसभाका बीचमा विभेद हुन पुगेको बताए । 

सरकार बनाउने र हटाउने अधिकार प्रतिनिधिसभालाई मात्रै रहेका कारणले पनि दुई सदनका बीचमा विभेदमा परेको र राष्ट्रियसभालाई ध्यान दिन नसकिएको उल्लेख गरे । 

उनले सरकारले विजनेश दिन नसकेको बेला सभाले आफै काम तय गरेर छलफल गर्नुपर्ने र त्यसलाई राष्ट्रिय मुद्दाका रुपमा अगाडि बढाउनैपर्ने धारणा राखे । 
 
प्रतिनिधिसभाको बैठक नचल्दा समेत राष्ट्रियसभा चल्ने र अत्यावश्यक काम गर्ने व्यवस्थाका लागि संविधान संशोधन जरुरी रहेको सांसद सुवेदीको भनाइ छ ।

सभाध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्योहोरा जानकारी गराएका थिए । 

यस्तै विषयगत समिति र संयुक्त समितिमा रहने माननीय सदस्यहरुको नाम मनोनयन तथा हेरफेर गरिएको जानकारी सदनलाई गराए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९र८०’ सभा समक्ष पेश गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार