काठमाडौँ, चैत । पोखराको सूर्यदर्शन सहकारी पीडितले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठलगायतले सभापति खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् ।
संयोजक श्रेष्ठले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रभावित पीडित निक्षेपकर्ताहरूको बचत फिर्ता गराउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् । ज्ञापनपत्रमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको उल्लेख छ ।
पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौं जस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण फेला परेको छ।
पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको पोखरा महानगरपालिकाको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।
पीडित बचतकर्ताले गत साउनमा नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।
महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ ।
गोर्खा मिडिया नेटवर्कदेखि नेचर हर्ब र नेचर नेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम लगानी गरिएको प्रतिवेदनमा खुलाइएको छ ।