काठमाडौँ, फागुन । ‘मिसन ८४’ को बहस अर्थहीन र भावनाको लहड मात्रै भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
झापा क्षेत्र नम्वर १ का सांसद शर्माले सोमबार धुलावारी खानेपानी तथा उपभोक्ता समितिको २३ औँ वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।
‘मैले निराशाजनक कुरा गरेको होइन, तर ०८४ सालसम्म मरिन्छ कि बाँचिन्छ थाहा छैन,’ उनले भने ।
महामन्त्री शर्माले नेपाली समाज व्यापक निराशामा फसेको जिकिर गर्दै साझा मञ्चमा उभिएर जनताको निराशा हटाउनसक्नु चाँहि नेताहरुको अहिलेको चुनौती रहेको बताए ।
शर्माले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वासको निराकरण तत्कालको आवश्यकता रहेको बताए ।
‘संसदमा केही गडबडी र गज्याङगुजुङ भयो, त्यही कारण सरकार परिवर्तन भएको हो’, सरकारको नयाँ गठवन्धनतिर लक्षित गर्दै शर्माले थपे, ‘ठूलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन । सरकार फेरिनु नियमित प्रक्रिया हो ।’