काठमाडौँ, फागुन । प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा आएका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोबीच सोमबार भेटवार्ता भएको छ ।
उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।
नेपालमा जारी शान्ति प्रयास अभ्यास–४ अवलोकन गर्न आएका एडमिरल एक्युलिनोले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भयो ।
उनी नेपालको तीनदिने भ्रमणमा आएका हुन् । उनलाई सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।