काठमाडौँ, माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउन रुससँग कुटनीतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन् ।
उनले आफ्ना नागरिकलाई सुरक्षित फर्काउन रुससँग वार्ता गर्ने क्षमता सरकारसँग छ कि छैन प्रश्न गरे । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुताबासलाई बोलाएर संवाद गर्नुबाहेक कुनै पहल गर्न नसकेको आरोप लगाए ।
उनले रुसमा युद्धका कारण जोखिममा परेका नेपालीहरुको उद्धारका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए ।
'सरकारको कुनै न कुनै सम्पर्क भइरहेको छ कि छैन? राजदूतलाई बोलाएर कुरा गरेभन्दा बाहेक हाम्रो कुटनीतिक पहल के भएको छ ? '
'बैठकमा प्रश्न गर्दै महामन्त्री शर्माले भने, 'सरकारको क्षमता रसियासँग संवाद गर्न सक्नेस्तरमा छ की छैन ? त्यहाँ नेपालीको यकिन संख्या कति छ ? सरकारले यी प्रश्नहरुको जवाफ दिनुपर्छ । सरकार छ भन्ने अनुभूति गराउन आवश्यक छ ।'
उनले रुसी सेनामा भर्ती भएका नेपालीको तथ्यांकसमेत यकिन नभएको भन्दै सरकारको भूमिका माथि प्रश्न उठाए । ‘६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल । उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे । एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए ।
दुतावास पुग्नुअघि पक्राउ परे । उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो,' शर्माले भने, 'करिब १६ सय किलोमिटर भागेर उनीहरुसँग दुतावासको सम्पर्क भयो । उनीहरुले सम्पर्कमा आएकै साँझ विमानस्थल पुर्याउँदा पक्राउ परे ।
उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन् । उनीहरुको अवस्था के छ ? सरकारलाई थाहा छ कि छैन ? वास्तवमा अहिले त्यहाँ नेपालीको के कस्तो अवस्था छ ? सरकारलाई जानकारी छ कि छैन ?
महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताए ।