काठमाडौँ, माघ । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद्मा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट दर्ता गरिएको जनाईएको छ ।
बिहीबार संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साविककै व्यवस्था कायम राखि विधेयक दर्ता गरिएको जनाईएको छ ।
नेपालको संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थामा संशोधन गरेको थियो ।
तर २०७८ असोज ११ मा सो अध्यादेश राष्ट्रपतिबाट खारेज भएकाले अध्यादेशले परिवर्तन गरेका कानुनी व्यवस्थाहरुलाई हटाएर ऐनको साविककै व्यवस्था कायम राख्न संशोधन विधेयक ल्याइएको हो ।
विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साविककै अवस्था कायम राख्ने उल्लेख छ ।
ऐनमा भएको ‘संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन,’ भन्ने व्यवस्थालाई संशोधन गरी ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको २० प्रतिशत वा सो भन्दा बढी सदस्य’ राखेर तात्कालीन सरकारले अध्यादेश ल्याएको थियो ।
संघीय संसद्का प्रवक्ता एकराम गिरीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएको र सो विधेयकमा ऐनमा भएकै साविकको व्यवस्था गर्न भनिएको जानकारी दिए ।
सरकारले आगामी सोमबारका लागि संसदको अधिवेशन आह्वान गरेको छ ।