काठमाडौँ, पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् ।
शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको जानकारी दिइन् ।
आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी विधेयक तयारी भइरहेको पनि उनले बताइन् । नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको उनको धारणा थियो ।
‘चलचित्र सम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानुन मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौं । त्यो स्वीकृति भएर आउने क्रम जारी छ । त्यो छिटै नै आउँछ र हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन सुरु हुन्छ । संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्र सम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौ' उनले भनिन् ।
नेपालको चलचित्र क्षेत्रमा अब बनाउने कानुनले महत्त्वपूर्ण अर्थ राख्ने उनको धारणा थियो । 'अहिले प्रतिस्पर्धाको जमाना छ । नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । '
विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य हाम्रा चलचित्र बनाउनुपर्नेछ' उनले भनिन्,'अहिले हामीलाई बाहिरका चलचित्र चल्छन्, तर नेपाली चलचित्र चल्दैनन् भन्ने छ । 'कलाकारलाई समस्या छ । यो समस्या हटाउन हामीले छलफल गर्नुपर्छ । गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ । राज्यले पनि स्वदेशी चलचित्रको प्रमोसनका लागि के गर्दा फाइदा हुन्छ, त्यो विषयमा बढी ध्यान दिनुपर्छ ।’