काठमाडौँ, पुस । सरकारले जनताको शिर झुकाउने गरी कुनै किसिमको काम नगरेको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उपसभापतिसमेत रहेका खड्काले भने, 'सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको छ ।'
'हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुनेनै छ,' उनले भने, 'वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।'
खड्काले आर्थिक स्रोतको अभावका कारण विकास निर्माणका काम सुस्त भएको बताएका छन् । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षा अनुसार हुन नसकेको उनले बताए । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनको भनाइ थियो ।
जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गरे ।