२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय सुरक्षा नीति  : " रक्षामन्त्रीले मागे कार्यान्वयनको प्रगति विवरण "

बुधवार , पौष २५, २०८०

 

काठमाडौँ, पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना बमोजिम भएको कार्यप्रगति विवरण मागेका छन् । 

उनले सम्बन्धित मन्त्रालय र निकायहरुलाई त्यस्तो प्रगति विवरण एक साताभित्र रक्षा मन्त्रालयमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

बुधबार मन्त्रालयमा भएको राष्ट्रिय सुरक्षा नीति-२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजनाको प्रगति समीक्षा कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सबै मन्त्रालय तथा निकायका प्रतिनिधिहरूलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना-२०७७ मा भएको प्रगति विवरण लिखितरुपमा दिन भनेका हुन् ।

समीक्षा बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सबैको सक्रिय भूमिका आवश्यक हुने बताए । 

सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, जनताको जीवनको सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण र संवेदनशील विषय रहेको भन्दै उपप्रधानमन्त्री खड्काले यसको कार्यान्वयनमा सबैले आफ्नो जिम्मेवारीमा परेका क्रियाकलाप पूरा गर्न आग्रह गरे ।

उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरू सबैले पूर्ण स्वामित्व र अपनत्व लिएर जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिए ।

बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकोले सरकारका अरू नीतिहरू यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत सुरक्षा नीति सम्बद्ध विभिन्न मन्त्रालयका फोकल पर्सनहरु उपस्थित थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार