२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस

'नेपाल पुकार’ को पुनः प्रकाशन : " कांग्रेसका गतिविध जनतामा पुर्‍याउन  सहज "

कांग्रेसबारेमा आफ्नो धारणा बनाउन

आइतवार , मंसिर २४, २०८०

 

पाटन (ललितपुर) , मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताएका छन ।  

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत कांग्रेसबारे जानकारी हासिल गर्न सक्ने बताएका हुन ।  

“नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ । यो पत्रिका पढ्नेले नेपाली कांग्रेसबारे जानकारी प्राप्त गरी कांग्रेसबारेमा आफ्नो धारणा बनाउने छन् । यसले पार्टीका गतिविधिहरु जनतासमक्ष पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, सभापति देउवाले  बताए ।

त्यस अवसरमा पार्टी उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अहिले नेपालमा सुशासनको राजनीतिको खडेरी परेको अवस्थामा नेपाल पुकारको नयाँ अङ्क सुशासन विशेषाङ्कका रुपमा आउनुपर्ने धारणा राखे ।  

“अहिले सुशासनको राजनीतिको खडेरी परेको अवस्था छ । यो अवस्था सुशासनका बिषयमा केन्द्रित रहेर अर्को अङ्क आउनुपर्छ । 

चुनावमा जिताइ देउ भन्ने मात्रै हाम्रो मिसन होइन, सुशासन पनि हाम्रो मिसन हो । यसका लागि हामीले संस्कार र राजनीति प्रवृत्तिमा बदल्न आवश्यक छ”, उनले भने । 

उनले गरिबी, रोग, भोक र अशिक्षा हाम्रो प्रमुख शत्रु हो भन्ने आधारमा अगाडि बढ्नुपर्छ भन्दै नेपाली राजनीतिलाई सुदृढीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

कांग्रेस महामन्त्री गगन थापाले कुशासनले नागरिक आजित भएको भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।  

“नेपाली कांग्रेस समुन्नतिबारे जनतामा जानकारी प्रवाह गर्न चाहन्छ । नेपाली कांग्रेसले गरेका हरेक काम जनतामा पु¥याउन पत्रिकाले महत्वपूर्ण काम गर्ने छ भन्ने विश्वास छ”, उनले भने । 

 “हामीले यो पत्रिका पार्टीको स्रोतबाट विज्ञापन नराखेरै चलाउन चाहेका छौँ । यसले सार्थकता पाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ” उनले थपे । 

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको वैचारिक सन्देश प्रवाह गर्न यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास राखे ।  

पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रचारप्रसार विभागका पूर्वप्रमुख मीनेन्द्र रिजाल, नगरपालिका महासङ्घका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले सो अवसरमा धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार