काठमाडौँ, मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने भएको छ ।
समितिले एनसेल प्रकरणमा के - के भएको हो ? त्यसबारे जानकारीसहित समितिमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको समितिका सभापति रामहरि खतिवडाले बताए ।
'यो प्रकरणमा अरुले पनि काम गरिरहेका छन् । तर प्रधानमन्त्री कार्यालय राज्य व्यवस्था समिति मातहत हो,' खतिवडाले सञ्चारकर्मीसँग भने, भने, 'वास्तवमा त्यसमा के कस्तो अनियमितता भएको हो ? खास अवस्था के हो ? त्यसबारे सरकारले के गरिरहेको छ ? हामीले प्रधानमन्त्रीलाई समितिमा बोलाउने र जवाफ लिने निर्णय गरेका छौं ।'
उनले प्रधानमन्त्रीसँग समय लिएर कार्यक्रमको मिति तय हुने बताए । उनका अनुसार समितिले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाएको छ ।
समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए ।
समितिको बैठकमा सांसदहरुले राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता विना यति ठूलो अनियमितता हुनै नसक्ने भन्दै त्यसबारे प्रधानमन्त्रीले प्रस्ट जवाफ दिनुपर्ने माग गरेका थिए ।