काठमाडौँ, मंसिर । कांग्रेस महामन्त्री गगन थापाले एनसेलको बिक्री प्रकरणमा प्रथम दृष्टिमै अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिने बताएका छन् । उनले सो प्रकरणमा कानुनको उल्लंघन भएको वा नभएकोबारे सरकारले गहिरो छानबिन गर्नुपर्ने बताए ।
ओखलढुंगामा मंगलबार कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा महामन्त्री थापाले सो प्रकरणमा जतिसुकै प्रभावशाली व्यक्ति जोडिएको भए पनि त्यसबारे छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ । केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले अघि भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ ।
अहिले कांग्रेससहितको सरकार छ, यो प्रकरणमा जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
महामन्त्री थापाले एनसेल प्रकरणमा यदि नेपालकै कोही ठूलो नेताले चोर बाटोबाट कमाएको कालो धन घुमाएर फेरि नेपालमा लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि त्यसबारे छानबिन गरेर दण्ड सजाय हुनुपर्ने बताए ।
उनले अहिले हरेक नागरिकले सरकार भएको अनुभूति गर्न चाहेको र सरकार खोजिरहेको बताए । ‘मैले पूर्वदेखि पश्चिमसम्म घुमेर धेरै मानिससँग कुरा गरिरहेको छु । सबैले राज्यको साथ खोजिरहेको पाउँछु ।
तर राज्य खोजिरहेको नागरिकलाई सहयोग गर्न सरकार पुगिरहेको छैन,’ उनले भने, ‘नागरिकको आक्रोश अहिले जुन आउने गरेको छ, त्यसको पछि कुनै ठूलो कारण छैन, कुनै ठूलो माग पनि छैन ।’
उनले नागरिकको सबैभन्दा ठूलो आक्रोश भ्रष्टाचारको विषयमा रहेको बताए । ‘नागरिकले हरेक दिन अर्बौ रुपैयाँ घोटाला भएको समाचार सुन्छ ।
तर नागरिक आफैँ भने बैंकबाट ऋण लिएर साना(साना काम गर्न खोज्दा पनि सहजता नभएपछि रूवाबासी मच्चिएको छ,’ उनले भने, ‘त्यसबाट यति धेरै मानिसको जग्गा लिलामी हुने अवस्थामा पुगेको छ कि उसको सबै कुरा रित्तिने अवस्था छ ।
सहकारीहरू डुबेका छन् । व्यवसायीहरू डुबेका छन् । किसानहरू कंगाल हुने अवस्थामा पुगेका छन् । ती सबै मानिसले राज्यबाट राहतको आशा गरिरहेका छन् ।’
उनले अहिले कतिपय दल र नेताहरूलाई २०८४ सालको चिन्ता देखिएको भन्दै कांग्रेसले त्यतातिर ध्यान खिचेर अलमलिनु नहुने बताए ।
‘अहिले कसैलाई यो गठबन्धन ढाल्नुपर्नेछ, कसैलाई ०८४ को चुनावको चिन्ता छ, कोही मिसन–८४ भने दौडिएको छ, कोही यो गठबन्धन तोडिहाल्नुपर्छ भन्दै कुदिरहेको छ,’ महामन्त्री थापाले भने, ‘तर कांग्रेसले त्यसमा अलमलिनु ठीक छैन ।
कांग्रेसले २०८०, ०८१, ०८२ र ०८३ को चिन्ता लिनुपर्नेछ, जनताले के चाहेका छन् रु त्यो काम गर्नुपर्नेछ । हामीले मिसन ०८४ चलाउनै पर्दैन, हाम्रो कामले नै जनताबाट पुरस्कार पाउनेछ ।’
महामन्त्री थापाले कांग्रेसले अफ्ठयारोमा सरकार छ, कांग्रेस छ भन्ने हरेक नागरिकलाई अनुभूति गराउन सक्नुपर्ने बताए ।