२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 "सुकुम्बासी समस्या समाधान गर्नेगरी तयारी गरिँदै "  : प्रधानमन्त्री दाहाल

सोमवार , मंसिर ११, २०८०

काठमाडौँ, मङ्सिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताए ।  

स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए ।  

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले सुकुम्वासी समस्या हल हुने दाबी गरे ।  

उनले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । 

“सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ”, प्रधानमन्त्रीले बताए ।  

सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । 

सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो काम गर्ने इमान्दार प्रयास भएको बताउँदै दिँदै प्रधानमन्त्रीले मिटरब्याज पीडितको समस्या समाधान गर्न प्रयास गरिएको, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, भूमाफियालाई कारबाही, नक्कली भूटानी शरणार्थी प्रकरणमा हस्तक्षेप र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको दाबी गरे । 

नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ गर्न सरकार गम्भीर रुपमा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, इटालीलगायतको भ्रमण सहयोगी बनेको स्पष्ट पारे ।  

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपाल डरलाग्दो स्थितिमा पुगेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरेको उल्लेख गरे ।  

विकसित राष्ट्रले नेपाललगायत देशलाई उपलब्ध गराउने भनेर यसअघि जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएकाले यस पटकको कोप–२८ मा त्यसबारेमा गम्भीर ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सरकारले बुढीगण्डकी, कर्णाली चिसापानीलगायत ठूला आयोजनाको काम अगाडि बढाएको सो अवसरमा जानकारी दिए ।  

बुढीगण्डकी आयोजनाका लागि मात्रै पूर्वाधार करमार्फत उठ्ने रकम जम्मा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ । कर्णाली चिसापानी आयोजनाको अध्ययन अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिउका छन । 

तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको प्रधानमन्त्रीको कथन छ ।सरकारले जटिलताका बीचमा पनि विकास निर्माणको कामलाई गति दिने प्रयास गरिएको उहाँले जानकारी दिए । 

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिइएको भए पनि कार्यान्वयनमा आउन नसकेको सन्दर्भमा मन्त्रिपरिषद्बाट कार्यान्वयनमा लगिएको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसबाट काठमाडौँ उपत्यकाका नेवार समुदायका अगुवाले सरकारलाई धन्यवाद दिएको बताए । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको सही प्रयोग गरेर मात्रै पार्टीलाई जनताका माझ थप लोकप्रिय बनाउन सकिने बताए । 

उनले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे । 

सोही अवसरमा सञ्चार  तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिलाई सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि लैजाने बताए । 

सामाजिक सद्भाव खल्बलिने  अवस्था आएकाले सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी गरेर कार्यान्वयन गरिएको उनले स्पष्ट पारेका छन। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार