काठमाडौँ, कात्तिक । जाजरकोटका भूकम्प पीडितलाई भेटेर रुकुमपश्चिम पुग्नुभएको राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक राज्य हुनुको अनुभूति जनतालाई गराउन सरकार सक्रिय भएर लागेको बताएका छन ।
उनले भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील रहेको बताए ।
रुकुम पश्चिममका भूकम्प पीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्प पीडितको साथमा रहेको बताए ।
उनले पीडितको पुनःस्थापना, उनीहरूको सुविधा सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित भएकाले नआत्तिन अनुरोध गरे ।
राज्यलाई नोक्सानीको सही सूचना दिएर राहत र पुनःनिमाणको कार्यमा सहयोग गर्नसमेत उनले अनुरोध गरे ।
भूकम्प पीडितसहित जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायत रहेको भेलामा राष्ट्रपतिले पीडितलाई राहत, अस्थायी आवास र उनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका छन ।
राष्ट्रपति पौडेलसमक्ष प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामा भएको मानवीय र भौतिक क्षतिको अवस्था र तत्कालको आवश्यकताबारे जानकारी गराएका थिए ।
उनले जिल्लामा ५२ जनाको मृत्यु भएको र १६ हजार ५७० घर पूर्णरुपमा क्षति भएका जानकारी दिएका थिए ।