२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जाजरकोट भूकम्प

सरकारले भन्यो  : " भूकम्प  प्रभावितलाई राहत र उपचार प्रभावकारी तुल्याउँछौँ "

शनिवार , कार्तिक १८, २०८०

काठमाडौँ,  कात्तिक । सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिउकाे बताएकी छन । 

उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी छन ।  

सङ्कटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उनले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गरेकी छन ।  

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन ।  

साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन । भूकम्पका कारण केही सञ्चार माध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गरेकी छन । 

मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालय अन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ । 

यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिएकी छन । 

त्यसैगरी आकस्मिक टेलिकम्युनिकेसन क्लष्टर (लाई सक्रिय बनाई भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवाप्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ ।

प्रभावित क्षेत्रमा रहेका पीडित, उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयको आग्रहमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहत कोषमा रु ५० लाख सहयोग र रु ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार