२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'संक्रमणकालीन न्याय सजिलो विषय छैन'  :  महासचिव गुटेरेस

मंगलवार , कार्तिक १४, २०८०

 

काठमाडौँ, कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय सजिलो विषय नभएको बताएका छन् ।  उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । 

नेपालमा भ्रमणमा आएका गुटेरेसले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अल्पविकसितको अवस्थाबाट अघि बढ्न लागेकोमा त्यसका लागि नेपाललाई संयुक्त राष्ट्रसंघको समर्थन र सहयोग रहने बताए ।

तपाईँहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,' उनले भने, 'संक्रमणकालीन न्यायका प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । 

संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन ।' उनले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सकिने बताए । 

संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन रहेको समेत उल्लेख गरे ।

'नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ । 

र यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ,' उनले भने, 'विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार