२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अमेरिका - नेपाल सम्बन्ध

परराष्ट्रमन्त्री साउदले भने : " नेपाल र अमेरिकाबीच लामो र घनिष्ट सम्बन्ध छ "

'नेपाल आज इन्डो-प्यासिफिक (क्षेत्र) मा निकै महत्त्वपूर्ण साझेदार हो' : अमेरिकी विदेशमन्त्री ब्लिन्केन

मंगलवार , कार्तिक १४, २०८०

वाशिङ्गटन डिसी, कात्तिक।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गनुर््भएको छ ।

सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गर्नुभएको थियो ।

उहाँले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको थियो । यसअघि उहाँले मन्त्री साउदलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।

अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वाशिङ्गटन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको थियो ।

सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो, “नेपाल र अमेरिकाबीच विगत लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको छ र दुई देशबीच विगतदेखि नै महत्वपूर्ण क्षेत्रमा सहमति र समझदारी हुदै आएको छ ।

विदेशमन्त्री ब्लिङ्केनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रुपमा सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

;नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “विश्वभर द्वन्द्वग्रस्त स्थानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमार्फत नेपालको भूमिका महत्वपूर्ण रहेको छ ।

यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्ध समेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महत्वपूर्ण सहकार्य गर्दै आएको पनि उहाँले सो प्रेस ब्रिफिङमा उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री एन पी साउदले प्रत्युत्तर मन्तव्य दिनुहुँदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनु परेको घटनामा व्यक्त गर्नुभएको सहानुभूतिका लागि कृतज्ञता ज्ञापन गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “हामीहरुले आतङ्कवादी समूहको आक्रमणबाट दश विद्यार्थीलाई गुमाउनु परेको पीडा छ भने अर्कातर्फ एकजनाको अवस्था अझै अज्ञात रहेको छ ।

यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्शाउने सबैप्रति हाम्रो सम्मान छ । साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्नु हुँदै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री साउदले विश्वव्यापी रुपमा उत्पन्न जटिल परिस्थितिका बाबजुद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराउनुभएको समयका लागि आभार प्रकट गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार