महान पर्व बडादशैँ सुरु
पछिल्लो २४ घण्टा : ' उपत्यकाबाट आज एक लाख बाहिरिए '
काठमाडौँ, कात्तिक । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।
आज बिहानसम्मको अद्यावधिक विवरण अनुसार सार्वजनिक सवारी साधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन ।
योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उहाँले बताउनुभयो ।
घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिएका छन ।
उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार २७९ र त्यसको भोलिपल्ट ५१ हजार ३८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।
असोज ३० गते ७३ हजार ८९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार ३३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । ।
निजी सवारी साधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।