काठमाडौँ, असोज । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत् सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठककका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटना प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोसीमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए ।
‘चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघ संस्थाका प्रतिनिधिले आफ्नो धारणा राखे । चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भय र हिंसारहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छु सभापति जोशीले भने ।
संसदीय समितिमा सांसदहरुले चिकित्सकहरुमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।