काठमाडौँ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले योगले ‘स्वस्थ मन’ बनाउने उललेख गरे ।
उनले भने, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्न पनि योगको आवश्यकता छ ।' चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे ।
उनले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग हुने छ भने । आफुले थोरै प्रणायाम गर्दा पनि त्यो महसुस गरेको उनको भनाइ थियो ।
धन कमाएर, लोभ गरेर, आशक्तिमा बस्दा हाम्रो जीवनलाई कमजोर र दुखि बनाएको जनाउँदै उनले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिए ।
समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत यो कार्यक्रम शुरुआत गरिएको जानकारी दिए ।
यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उनले बताए ।