काठमाडौँ, भदौ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका समयमा अत्यावश्यक खाद्य पदार्थको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।
चिनी, चामल, गहुँलगायतका अतिआवश्यक खाद्यवस्तुको अभाव हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिको आइतबार बसेको बैठकले दसैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्य वस्तुहरूको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
अत्यावश्यक खाद्य वस्तुको बिक्री वितरण शुलभ मूल्यमा गर्न पनि सरकारलाई सचेत गराइएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।
समितिले बजारको मागअनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
सभापति खानले भने, ‘नजिकिँदै गइरहेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायत अतिआवश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरिएकोमा बजारको माग अनुसारको परिमाणमा सहमति प्राप्त नभएकोतर्फ समितिको ध्यानाकर्षण भएको छ ।
बजारको माग अनुसारको परिमाणमा अर्थ मन्त्रालयबाट माग भएअनुसार मूल्य अभिवृद्धि कर पूरै छुटमा र एक प्रतिशत भन्सार महसुल लिनेगरी आयातका लागि सहमति उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ ।
अनुगमनलाई पर्याप्त मात्रामा जनशक्ति, स्रोत र साधनको व्यवस्था मिलाउन सरकारलाई समितिले निर्देशन दिएको छ ।
दैनिक प्रयोग हुने खाद्य वस्तुहरु नुन, चिनी, चामल दाल, तरकारी, तेल, दूध, पानी, औषधिलगायतका उपभोग्य वस्तुमा दसैं, तिहार, छठलगायतका पर्वलाई लक्षित गरी हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, कृतिम अभावलगायतका विषयहरुमा देशका विभिन्न स्थानमा यस समितिले स्थलगत अनुगमन गर्नेछ," सभापति खानले भने, 'उक्त अनुगमन कार्यका लागि समिति सभापतिको नेतृत्वमा समितिका चार जना सदस्य र दुई जना कर्मचारीको टोलीले अनुगमन कार्य गर्नेगरी आवश्यक व्यवस्था मिलाउने ।’
