२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 " सामाजिक सद्‍भाव बिगार्न खोज्‍नेसँग सतर्क रहौँ " : उपप्रधानमन्त्री खड्का

शुक्रवार , भाद्र ८, २०८०

 

काठमाडौँ, भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको बताएका छन । उनले यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनुपर्ने पनि  बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले आज चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटनका क्रममा बताएका हुन । 

देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्वप्रति आमनागरिक, तीनै तहका सरकार र सबै राजनीतिक शक्तिहरु सचेत हुनुपर्ने पनि उनले उल्लेख गरे । 

हाम्रो देशमा सदियौँदेखि  विभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रुपमा धेरै जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिदै आएका छन,  यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँ  कतैबाट हुन नहुनेमा उनको जोड थियो । 

सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध भएर आएको बताउँदै उनले थपे, यहाँ कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्धन्द्ध छैन ।  

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भने, 'यो वा त्यो बाहनामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।'

यस्तै संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । 

विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनु पर्नेमा उनले जोड दिएका थिए ।

जनप्रतिनिधिलाई कुनै किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भने, 'तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, अनि त्यसबाट ताकत आएँछ । तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार