२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शुक्रबारदेखि निरन्तर वर्षा

मनाङको सडक भासियो  : "  ३५ किलोमिटर सडक, ३५ ठाउँमा नै पहिरो "

आइतवार , श्रावण २८, २०८०

मनाङ,  साउन । हिमाली जिल्ला मनाङमा आवत जावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । 

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । 

यस सडक खण्ड अन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।  

उनले भने, “केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवत जावत ठप्प भएको छ ।”

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए ।  निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए । 

सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले  जोखिम मोलेरै काम गरिरहेको बताए ।  

यस सडक खण्ड अन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उनले जानकारी दिए । “लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्”, उनले भने । 

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेको बताएका छन । 
 उनले पहिराका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिए ।  

डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म १०५ किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ ।

 खसेको पहिरा हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ । 
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार