२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महिला औद्योगिक पार्क

" महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक " : अर्थमन्त्री डा महत

'प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्छ '

शुक्रवार , श्रावण २६, २०८०

काठमाडौँ, साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताएका छन । 

दक्षिण एसियाली महिला मञ्चले आज काठमाडौैँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए । 

“महिला औद्योगिक पार्क निर्माणको काम अघि बढिसक्यो । यसलाई अब कसैले रोक्न सक्दैन । हेर्दा सामान्य जस्तो लाग्ने यो दूरगामी अवधारणासहितको परियोजना हो”, अर्थमन्त्री महतले भने, “महत्वपूर्ण सुरुआत भएको छ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।

नेपालको ठूलो श्रमशक्ति विदेशिरहेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादन बढाउनका लागि यो औद्योगिक पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको उहाँको भनाइ थियो ।

ग्रामीण र आधुनिक अर्थतन्त्र निर्माणमा महिलाको भूमिका बढिरहेको र यसलाई राज्यले पनि प्राथमिकताका साथ प्रवद्र्धन गर्ने नीति लिएको अर्थमन्त्री डा महतले बताउनुभयो । देशैभरि लघुउद्यम व्यवसायमा महिलाको सहभागिता छ ।

घरघरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि सहभागिता बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ ।

सूचना प्रविधि अर्को अवसरको क्षेत्र हो । महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क निर्माण भइरहेको छ । गत जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रुपमा प्रचार गरिने जनाइएको छ ।

यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार