२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस बैठक

उपसभापति खड्काले भने : ' प्रतिकूलताका बाबजुद  पनि कांग्रेस पहिलो '  

सत्तापक्ष र प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने अवस्था

मंगलवार , श्रावण २, २०८०

काठमाडौँ, साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक प्रतिकूलताका बाबजुद कांग्रेस गत निर्वाचनबाट पहिलो दल बनेको बताएका छन् । 

गठबन्धन र पार्टीभित्र थुप्रै चुनौतीहरूका बीचबाट पार्टीलाई पहिलो दल बनाउन सफल भएकोमा बधाईसमेत ज्ञापन गर्दै हाल सरकारको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री रहेका उपसभापति खड्काले प्रतिकूलताका बाबजुद कांग्रेस पहिलो दल बनेको र त्यही जगमा टेकेर अहिले सरकारमा रहेको बताए ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकदेखि हालसम्मको राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गर्दै उपसभापति खड्काले मुलुकको ठूलो दलका रुपमा कांग्रेसले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

स्थानीय तहमा ऐतिहासिक जित हासिल गर्‍यौँ, त्यो अवस्थामा हामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गयौँ । विभिन्न अफ्ठ्यारा र असहजताका बाबजुद जनताले हामीलाई मत दिएर हामी फेरि पनि पहिलो पार्टी बन्यौँ,’ उनले भने, ‘तर पुस १० मा हामी केही चुक्यौँ । 

त्यसपछि दुई महिना हामीले ठूलो मिहिनेत गरेर मुलुकको राजनीतिक परिस्थिति फेरि हाम्रो अनुकूल बनेको छ । अब हामीले जथाभावी बोलेर यसलाई भत्काउने, बिगार्ने कुरामा लाग्नु हुँदैन ।’

उनले प्रतिकूलताको बाबजुद पनि पार्टीलाई विजयी गराउन र पार्टीलाई पहिलो पार्टी बनाउनका लागि सफल भएको भन्दै सबैलाई बधाई ज्ञापन गरे ।

‘पुस १० मा तोडिएको गठबन्धनलाई हामीले राष्ट्रपति निर्वाचनपछि फेरि एक ढिक्का पार्न सफल भयौँ । र, १७ चैतमा नेपाली कांग्रेस सरकारमा सहभागी भयो ।  अहिले कांग्रेसका तर्फबाट हामी ९ जना मन्त्रीहरू संघीय सरकारमा छौँ ।
 
हामी सरकारमा सहभागी भएको ३ महिना २३ दिन पुगेको छ,’ उनले भने, ‘कांग्रेस सत्ता साझेदार दलमात्रै हो ।  तर सरकारका राम्रा नराम्रा कामको जवाफ कांग्रेसले पनि दिनुपर्ने हुन्छ । त्यसैले संवेदनशील भएर काम गर्नुपर्ने अवस्था छ ।’

उनले अहिले आफू भुइँमा बसेर पार्टीलाई माथि उठाउन भूमिका खेल्ने पार्टीका कार्यकर्ता र मतदाता नै पार्टीको नेतृत्वसँग रुष्ट बनेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार