२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक

कानुनमन्त्री गुरुङले भने : "अब मिटरब्याजसम्बन्धी विधेयक रोकिँदैन "

शनिवार , आषाढ ३०, २०८०

काठमाडौँ, असार । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुने बताएका छन् । 'उनले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको भन्दै अब त्यस्ता षड्यन्त्रले सरकारलाई रोक्न नसक्ने बताए ।

काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको बताए ।

सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्यायो । तर त्यसलाई संसद्बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र गर्? त्यो सबैलाई प्रस्टै छ, उनले अघि भने, भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र भइरहेको छ । तर हामीलाई सरकारमा हौँला वा नहौँला भनेर चिन्ता छैन ।

हामी जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौँ । जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ । उनले दुईरतीन दिनभित्रै मिटरब्याज सम्बन्धी विधेयक संसद्मा पेस हुने र पारित हुने बताए । मन्त्री गुरूङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।

अहिले सरकारले भ्रष्टाचारका फाइल खोलिरहेको छ । यो बालुवाटारमा गठबन्धनको बैठकबाट निर्णय भएर मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र भ्रष्टाचारका सबै फाइलहरू खोल्ने काम थालिएको हो, उनले भने ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा गुरूङ समुदायको उल्लेख्य योगदान गरेको स्मरण गर्दै मन्त्री गुरूङले अझै पनि लोकतन्त्रको स्थायित्व, स्थायी शान्ति र विकासका लागि संघर्ष निरन्तर गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार