२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आगामी बर्षका बिकास आयोजना

अर्बमाथिका योजना प्रधानमन्त्रीको निगरानीमा : ' कात्तिकसम्म  ठेक्का  लगाउने तयारी'

राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति

सोमवार , आषाढ १८, २०८०


काठमाडौं, असार । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा एक अर्बभन्दा बढी खर्चका आयोजना तथा कार्यक्रमलाइ प्रभावकारी बनाउने भएको छ । 

सोका लागि सरकारले अनुगमन गर्न विशेष समिति बनाउने भएको छ ।  यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयसहित सरकारी निकायसँग एक अर्बभन्दा बढी लागतका आयोजनाको कार्यान्वयन योजना माग गरेको छ ।

मन्त्रालयहरुले दिएको कार्ययोजना मन्त्रिपरिषद्‍को कार्यालय अन्तर्गतको केन्द्रीय अनुगमन सूचना प्रणालीमा प्रविष्ट गर्न थालिएको  जनाइएको छ ।  असार मसान्तभित्र सबैको विवरण आएर प्रणालीमा लगत राख्ने काम सकिने छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यले बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्र नै तर्जुमा गरेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । 

बजेट कार्यान्वयनका लागि सबै मन्त्रालय र सरकारी निकायहरुले असारभित्रै सबै कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्न कार्ययोजनाहरु बनाइरहेका छन् । 

मन्त्रालयहरुको एक अर्बमाथिको आयोजनाको कार्यान्वयन योजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भइरहेका छन् ।

बजेटकै घोषणा अनुसार सबै मन्त्रालय र त्यस अन्तर्गतका निकायले आ–आफ्नो वार्षिक कार्ययोजना तयार गरिरहेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले सञ्चारकर्मीलाई बताए । 

उनका अनुसार ठूला योजना तथा कार्यक्रमको कार्ययोजना भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा पेश गर्ने काम भइरहेको छ ।

त्यसकै आधारमा राष्ट्रिय योजना आयोगमार्फत ठूला आयोजनाहरुको अनुगमन गर्ने सरकारको योजना छ । यस्ता कार्ययोजनाअनुसार काम भएर  नभएको हेर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति बनाएर नियमित रिपोर्टिङ लिने योजना छ ।

प्रधानमन्त्री कार्यालयमै राष्ट्रिय गौरवका आयोजनाको गतिविधि हेर्न सकिने गरी एक्सन रूम तयारगरिएको  छ । खासै प्रयोगमा नरहेको सो एक्सन रूम  अब प्रयोगमा ल्याई अनुगमनलाई प्रभावकारी बनाउने योजना छ ।

आयोजनाको अनुगमन प्रणालीमा सुधार गरी नतीजामा आधारित बनाउन भन्दै आगामी वर्षको बजेट वक्तव्यले एक अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन भएका कार्यक्रम र आयोजनाको कार्यान्वयनको अनुगमन गर्न योजना आयोगका सदस्यको नेतृत्वमा समिति बनाउने घोषणा गरेको थियो ।

आयोजनाको प्रभावकारिता अभिवृद्धि गर्न बाउन लागिएको समितिमा अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको पदाधिकारी रहेको समिति बनाउने तयारी छ । 

यस्तो अनुगमन समितिले दिएका सुझाव तथा मार्गदर्शनलाई एकीकृत अनुगमन सूचना प्रणालीमा आवद्ध गरी कार्यान्वयनको अनुगमन गर्ने योजना छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट पनि यस्ता आयोजना नियमित रुपमा अनुगमन गर्ने घोषणा बजेटले गरेको छ ।

कात्तिकभित्र ठेक्का लगाउन कठिन

बजेट अनुसार नै स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने मन्त्रालय वा निकायले साउन मसान्तसम्म कार्यविधि र निर्देशिका तयार गरी लागू गर्ने अर्थका प्रवक्ता शर्माले सञ्चारकर्मीलाई बताएका छन । 

‘सबै काम बजेटमा घोषणा भए अनुसार नै हुन्छ,’ उनले भने, ‘आगामी वर्षको बजेट कार्यान्वयनलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउन हरसम्भव प्रयास गर्छौं ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार