२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अन्तरप्रदेश मुख्यमन्त्री बैठक

प्रधानमन्त्री दाहालले भने :  ' संघीयता कार्यान्वयनको काम व्यवस्थित गरौं'

'प्रदेश प्रदेशबीचको सम्बन्धले लाेकतन्त्र सबल बनाउँछ'

शुक्रवार , आषाढ १५, २०८०


पोखरा, असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् ।

बैठकलाई सम्बोधनका क्रममा उनले भने, ‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु। 

नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ।’

अढाई शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्त आफूहरूका लागि संघीय शासन प्रणाली नित्तान्त नौलो अभ्यास भएको भन्दै उनले संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको सुसञ्चालन चुनौतीपूर्ण रहेको बताए ।

 ‘तर‚ तीनै तहमा चुनिएर आउनुभएका जनप्रतिनिधिहरू सीमित स्रोत साधनको सुझबुझपूर्ण ढङ्गले परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउँदै जनताका आकांक्षा पूरा गर्न क्रियाशील रहनुभएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको छ । 

यस कार्यमा प्रदेश सरकारको नेतृत्व सम्हाल्नुहुने सबै माननीय मुख्यमन्त्रीहरूले खेलेकाे महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु‚’ उनले भने ।

उनले प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समय  समयमा छलफल र अन्तरक्रिया हुँदै आएको र प्रदेश मुख्यमन्त्रीहरूको सहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएको सो अवसरमा जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार