काठमाडौँ, असार । समाजवादी मोर्चा गठनको घोषणासभामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रगतिशील शक्तिहरू एकताबद्ध भएर परिवर्तनलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।
माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि समाजवादी मोर्चा गठन भएको बताएका हुन् ।
विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त परिणामको रक्षा गर्नका लागि परिवर्तनकारी राजनीतिक दलहरू एक ठाउँमा आएर समाजवादी मोर्चा गठन गरिएको यादवले बताए ।
राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको कुरा उल्लेख गर्दै उनले सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।
प्रगतिशील, क्रान्तिकारी शक्ति जसले परिवर्तनलाई अगाडि बढाउन सकोस् ती शक्तिहरू मोर्चाबद्ध भएर अगाडि बढ्ने प्रयासस्वरुप यो मोर्चा निर्माण गरिएको हो । राजनीतिक रूपले धेरै कार्य गर्न बाँकी छ । विगतमा गरिएका धेरै कमी कमजोरी र गल्तीहरू सच्याउँदै अगाडि बढ्नुपरेको छ, उनले भने ।
शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको अध्यक्ष यादवको भनाइ थियो । ुविभिन्न आन्दोलनको परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनपुग्यो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि नेपालका उपेक्षित, शोषित, पीडित जनताले अझै पनि त्यो परिवर्तनलाई अनुभूति गर्न पाएको अवस्था छैन, उनले भने । राजनीतिक रूपमा प्रणाली बदलिएको र अब जनताको जीवनशैली बदल्नुपर्ने बताए ।