२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

समाजवादी मोर्चा घोषणा आज

चार दलका ५४ सांसदसहितकाे मोर्चा : 'संसदमा तेस्रो ठूलो शक्ति'

मोर्चामा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद

सोमवार , आषाढ ४, २०८०

 

काठमाडौँ, असार । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो । साझा प्रतिबद्धतासहित सोमबार ३ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुँदै छ । 

आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ ।

मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय घोषणा गर्न लागिएको छ । 

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले समाजवादी मोर्चा घोषणा कार्यक्रमका लागि उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा समझदारी गरेको छ । माओवादी महासचिव देव गुरुङले समाजवादी क्रान्तिका लागि मोर्चाको आवश्यकता परेको बताए ।

 ‘अहिलेको सन्दर्भमा समाजवादी क्रान्तिका लागि समाजवादी मोर्चाको आवश्यकता देखेर यो गर्न लागेका हौं,’ उनले भने ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार,  समाजवादी मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धता तय भएका छन् भने साझा न्यूनतम कार्यक्रम घोषणापछि संयोजन समिति र सचिवालयले तय गर्नेछ ।

 ‘मुख्यतः हामीले लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन, समृद्धि र समतामूलक समाज निर्माण गर्ने उद्देश्य लिएर मोर्चा गठन गर्न लागेका हौं,’ उनले भने, ‘संघीय शासन प्रणालीमा अगाडि बढ्ने । 

संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशिता, आर्थिक, विकासका मुद्दालाई लिएर एकठाउँमा आएका हौं,’ उनले भने ।


यसअघि स्वार्थका लागि गठबन्धन बनेको तर यो मोर्चा विचार मिल्नेहरूको भएको श्रेष्ठको दाबी थियो । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संसद् पाँच वर्ष टिकाउनका लागि मोर्चा गठन गरिएको बताए ।

 ‘संसद्लाई पाँच वर्षसम्म टिकाउन, वामपन्थी जनमतलाई एकीकृत गरिराख्न, एकताबद्ध र प्रभावकारी रूपमा जनताका आवाज अगाडि सार्न मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने ।

समाजवादी मोर्चाको सम्बन्ध सत्तारूढ गठबन्धनसँग नरहेको माओवादी महासचिव गुरुङले बताए पनि त्यसमा सकारात्मक प्रभाव पर्ने खतिवडाको भनाइ थियो । ‘सत्ता गठबन्धनमा हाम्रो सकारात्मक प्रभाव पर्छ । सत्तामा रहेका ५४ सांसदहरू एकताबद्ध भएर अगाडि बढ्छौं । 

हामी संसद्मा रहेका दलहरूको एउटै आवाज हुन्छ,’ उनले भने । श्रेष्ठले भने संविधानमा मिश्रित निर्वाचन प्रणाली रहेकाले पनि विचार मिल्ने राजनीतिक दलहरू एकताबद्ध हुनुपरेको बताए । 

एउटै राजनीतिक दलको बहुमत आउने सम्भावना नरहेकाले यो मोर्चामा जानुपरेको उनको भनाइ थियो । ‘राजनीतिक स्थिरता र अर्थतन्त्र मजबुद बनाउनका लागि समाजवादी मोर्चा हो,’ उनको तर्क थियो । 

समाजवादी मोर्चाबारे सरकारमा रहेको प्रमुख दल कांग्रेससँग पनि परामर्श गरिएको श्रेष्ठले बताए । उनले आगामी दिनमा कांग्रेस र मोर्चा सहकार्य गरेर अगाडि बढ्ने उनले जानकारी दिए ।

समाजवादी मोर्चामा चन्द नेतृत्वको नेकपा पनि सहभागी हुने भएको हो । वर्तमान राजनीतिक दलबाट राष्ट्रलाई अगाडि बढाउन सम्भव नभएको भन्दै क्रान्तिमार्फत सत्तामा जाने भनेको नेकपा समाजवादी मोर्चामा जान लागेको हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार