२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी बैठक आज

केन्द्रीय समिति र संसदीय दल बैठक : 'सैद्धान्तिक दस्ताबेजबारे छलफल हुने'

सोमवार , आषाढ ४, २०८०

काठमाडौँ, असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज, सोमबार, बिहान बस्दैछ । पार्टी स्थापना दिवस र ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले  सञ्चारकर्मीलाई बताएका छन ।  

उनका अनुसार असार ७ मा पार्टी स्थापना दिवस हो, कसरी मनाउने भन्ने बिषयमा छलफल हुनेछ । पार्टी नीतिविपरीत दस्ताबेज बाहिरिएपछि त्यसबारे समीक्षा गर्न बैठक बोलाइएको परियारले बताए ।

 ‘दस्ताबेज कसले बाहिर ‘लिक’ गर्‍यो भन्नेबारे आन्तरिक रूपमा छानबिन भइरहेको छ, बैठकमा पनि कुरा हुनेछ,’ उनले भने, ‘प्रारम्भिक रूपमा तयार भएको मस्यौदालाई पुनर्लेखन गर्नुपर्नेछ तर पर्याप्त छलफल नहुँदै सार्वजनिक हुँदा गलत सन्देश प्रवाह भयो ।’

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद देखिएको छ । मस्यौदालाई अन्तिम रूप दिई पार्टी स्थापना दिवसमा सार्वजनिक गर्ने तयारी रहे पनि विवादका कारण घोषणा अनिश्चित भएको छ । 

प्रमुख सचेतक परियारले असार ७ मा सार्वजनिक गर्नेभन्दा पनि पार्टी नीतिविपरीत कसले किन बाहिर पठायो भन्नेमा छलफल हुने बताए ।

महामन्त्री एवं विभाग प्रमुख मुकुल ढकाल संयोजक, कमल सुवेदी र रमेश प्रसाईं सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो । दस्ताबेजमा उल्लिखित शासकीय स्वरूप, संघीयता, अर्थ नीतिलगायत मुद्दामा तीव्र मतभेद देखिएको रास्वपाका एक नेताले बताए । 

ती नेताका अनुसार विभागले जेठ २४ देखि २७ गतेसम्म काठमाडौंमा सञ्चालन गरेको नीति विचार कार्यशालामा मस्यौदाका विषयमा तीव्र ध्रुवीकरण भएपछि छलफल स्थगित गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार