२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री शर्माले भने : 'भ्रष्टाचारमा तानिएकाको दलले प्रतिरक्षा नगरौँ '

कांग्रेस, एमाले र माओवादी पार्टीका अमूक नेतालाई बचाउन लाग्नुहुन्न 

शनिवार , आषाढ २, २०८०


काठमाडौँ, असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीका अमूक नेताहरूलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताएका हुन् ।

नेताहरूलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरूले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उनको भनाइ थियो । 

महामन्त्री शर्माले राजनीतिक दलहरूले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानबिन गर्न दिनाले मुलुकको सुशासनका लागि महत्त्वपूर्ण कदम हुने पनि स्मरण गराए ।

उनले भने, ‘मेरो पार्टीको अमूक नेता चाहिँ निर्दोष हुनुहुन्छ, फसाउन खोजिँदै छ‚ त्यसो गर्न पाइँदैन भनेर हामी कसैले भन्न पाउँदैनौं । यो देशमा कानुन छ । यो देशमा संविधान छ । यो देशमा अख्तियार छ । यो देशमा अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ भनेर ।’

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि दोहोर्‍याएर राष्ट्रपति बन्न नपाउने, प्रधानमन्त्री दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए । 

यसो गर्नाले त्यसले शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउने र सक्षमहरूले मुलकको जिम्मेवारी सम्हाल्दै अघि बढ्ने अवस्था आउने उनको बुझाइ थियो ।

महामन्त्री शर्माले तीन पटकभन्दा बढी मन्त्री हुन नपाउने, चार पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अति आवश्यक रहेको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार