काठमाडौँ, जेठ । सत्ता गठबन्धनमा रहेका शक्ति एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले भने, 'मतान्तर रहे पनि सत्ता गठबन्धनका दलहरू एकजुट हुनुपर्ने अवस्था छ ।'
अध्यक्ष नेपालले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूबीचका धाराहरूमा केही मतान्तर स्वाभाविक रूपमा भएको पनि बताए ।
उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए । ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही-केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दै छु, 'एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ ।'
सत्ता बाहिरको गठबन्धनमा कस्ता- कस्ता खालका शक्ति छन्, संविधानमाथि गम्भीर आघात पुर्याउने शक्ति छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्ति छन्,' उनले भने ।
अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील भन्दै उनले यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यकता नभएको बताए । ‘कमी कमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो । कमजोरीप्रति आँखा चिम्लिने होइन ।