काठमाडौँ, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।
चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् ।
कान्तीपुर लेख्छ, परराष्ट्रमन्त्री एनपी साउदले पनि भ्रमणको गृहकार्य भइरहेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको गृहकार्य भइरहेको छ, केही दिनमै औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक हुनेछ,’ उनले भने ।
वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो ।
परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन उनलाई भारतका विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ ।
जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुनेछन् ।
सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ ।