२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

संसदमा सांसदले भने : " यती र ओम्नीका फाइल खोलौ "

प्रतिपक्षी दलका नेता ओलीमा आँट छ ? : ' गल्ती भए जेल जान तयार छु भन्‍ने ?'

सोमवार , जेठ ८, २०८०

"प्रधानमन्त्रीज्यूले क्यान्टोनमेन्टका फाइल खोलौं दोषी रहेछु भने जेल जान तयार छु भन्नुभयो, प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीले पनि यती र ओम्नीका फाइलहरू खोलौं, गल्ती रहेछ भने जेल जान तयार छु भन्ने आँट गरौं न ! "


काठमाडौँ, जेठ । माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई लक्षित गर्दै विगतका भ्रष्टाचार प्रकरणमा ' गल्ती भए जेल जान तयार छु'  भन्न सक्छन् कि सक्दैनन् भन्दै प्रश्न गरेका छन् । सांसद सापकोटाले यती र ओम्नी प्रकरणका फाइल खोल्न पनि माग गरेका छन् ।


प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सापकोटाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा भ्रष्टाचारका सबै प्रकरणका फाइल खोल्न र गल्ती भेटिए कारबाही भोग्न तयार हो कि होइन भनेर प्रश्न गरेका हुन् ।


प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्यान्टोनमेन्टका फाइल खोल्न तयार रहेको र भ्रष्टाचार भेटिए जेल जान तयार रहेको संसद्मा भनेको स्मरण गराउँदै सांसद सापकोटाले यती र ओम्नी लगायतका अनियमितता खोल्न र कारबाही भोग्न ओली तयार हुन् कि होइन भनेर प्रश्न गरे ।

'भ्रष्टाचारका कुरा उठे । भ्रष्टाचारका विषयमा उठेका कुरामा सहमत छु । रघुजी पन्तले पनि नैतिकताको कुरा गर्नुभयो । त्यै नैतिकता भएर होला प्रधानमन्त्रीज्यूले क्यान्टोनमेन्टका फाइलहरू खोलौं म दोषी रहेछु भने जेल जान तयार छु भन्नुभयो,'  उनले प्रश्न गरे, 'प्रमुख प्रतिपक्षी दलको नेताले पनि यती र ओम्नीका फाइलहरू खोलौं, गल्ती रहेछ भने जेल जान तयार छु भन्ने आँट गरौं न ! सुरुवात त्यहाँबाट नै हुन्छ । एकले अर्कालाई किन आरोप प्रत्यारोप मात्रै गर्ने ? नैतिकता भनेको कुरा त्यसरी प्रस्तुत गरौं ।'

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेका बेला अन्य विषय उठान गरेर भ्रष्टाचारीलाई सहयोग गरिएको पनि सांसद सापकोटाको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार