२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

काठमाडौ उपत्यका : " एकीकृत विकास प्रणाली अगाडि बढाउनुपर्छ"

काठमाडौँ संसारको प्रदूषित सहर बन्दै, सरसफाईमा जुटौँ : नेता पौडेल 

शनिवार , जेठ ६, २०८०


काठमाडौँ, जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताए । जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उनले काठमाडौँभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका हुन । 

“काठमाडौँभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ”, उनलेथपे । 

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले काठमाडौँ उपत्यकाभित्रको विकासका लागि सुविधा सम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए ।  काठमाडौँ संसारको प्रदूषित सहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सकेमात्र काठमाडौँको वातावरण राम्रो हुने बताए । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगदीश्वरनरसिंह केसीले काठमाडौँलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन व्यक्तिबाटै पहल हुनुपर्ने बताए । 

काठमाडौँभित्र भद्रगोल विकासलाई अन्त्य गर्दै व्यवस्थित विकासमा सबै लाग्नुपर्ने उनको भनाइ थियो । नेता केसीले निरोगी र स्वस्थ्य मानिस बन्नका लागि व्यक्ति स्वयम् लाग्नुपर्ने बताए ।  

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्र आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको बताए ।  यस्तै साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा प्रदान गर्न नगरपालिकाले काम सुरु गरिसकेको उनको भनाइ थियो । 

वातावरण संरक्षणका लागि नपाले काम गरिरहेको नगरप्रमुख महर्जनले बताए । विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौँको उत्तरी क्षेत्रको टोखा र तारकेश्वर क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार