२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

नेता कोइरालाले भने : 'भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अभियान सुरु गर्नुपर्छ'

शरणार्थी प्रकरणले देशको शिर निहुरियो, ढाकछोप गर्न नहुने 

बुधवार , जेठ ३, २०८०

काठमाडौँ, जेठ । राजनीतिज्ञहरुले जनताको विश्वास गुमाउन थालेकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका लागि अभियान सुरु गर्नुपर्नेमा जोड दिइएको छ । 

प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताहरुले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएकाले यो भ्रष्टाचार काण्डलाई ढाकछोप गर्न नहुने बताए ।

“यो भ्रष्टाचार काण्डलाई ढाकछोप गरियो भने देशकै अवस्था नाजुक हुन्छ, नेपालको सार्वभौमिकतामाथि धावा बोलेको यो मुद्दामा संलग्न कसैलाई पनि छोडिनु हुन्न, भ्रष्टाचारविरुद्ध नेपाल प्रहरीले अहिले देखाइरहेको तागत पछिसम्म पनि कायम राख्नुपर्छ”–उनले भने ।  

युरोपबाट समानुपातिक निर्वाचन प्रणाली नक्कल गर्दा नेपालको राजनीतिमा समस्या देखिएको उल्लेख गर्दै नेता कोइरालाले त्यसमा पुनःविचार गर्ने बेला आएको बताए । 

नेपालको अर्थतन्त्र दयनीय अवस्थामा पुगेकाले त्यसको सुदृढीकरणका लागि राजनीतिक स्थिरता, सुशासनका लागि सबै दल एक हुनुपर्नेमा उनको जोड थियो । अबको निर्वाचनमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै निर्वाचन लड्ने भनाइ पनि नेता कोइरालाले सुनाए । 
 
कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रजातान्त्रिक पद्दतिको रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यसंयन्त्रको गठबन्धनमा गरिएको मानव तस्करी भएको उनले सुनाए ।  

कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मान २०८० डा सुरेश मल्ललाई प्रदान गरियो । प्रथम राष्ट्रपति डा रामवरण यादवले उहाँलाई सम्मानपत्र, दोसल्ला र रु २५ हजार राशिसहित प्रदान गरे का छन । 
 
प्रजातान्त्रिक आन्दोलनमा मल्लले पु¥याउनुभएको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो । सो अवसरमा मल्लले नगद राशि भने समाजका अध्यक्ष केसीलाई नै हस्तान्तरण गरे ।  

सम्मानित व्यक्तित्व मल्लले देश आर्थिक, सामाजिक र प्रजातान्त्रिक सङ्कटमा पुगेको उल्लेख गर्दै मानिसको चरित्र ह्रास भएकाले यस्तो अवस्था आएको बताए । 

समाजको लुम्बिनी प्रदेश, केन्द्रीय सदस्य मिलनचन्द्र खनाल, कास्की र चितवन जिल्ला शाखालाई पनि उत्कृष्ट काम गर्ने शाखा एवं सदस्यका रुपमा सम्मान गरिएको थियो । 

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहाल, समाजका उपाध्यक्ष बिमला शाक्य, महासचिव गोकर्ण अर्याललगायतले हालसम्म भएका समाजका गतिविधिका बारेमा प्रकाश पारेका  थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार