काठमाडौँ, जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले बताएका छन् ।
उनले भने, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने बताए ।
'एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । '
'सत्यतथ्यलाई निष्कर्षमा पुर्याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो, उनले भने, 'पहिला पनि उठेका थिए कतिपय कुराहरू । ती कुराको पनि क्रमशः छानबिन गर्नेछौं ।'
ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्कर प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानबिन गरौंला । 'नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने घटना गम्भीर भएको पौडेलको भनाइ थियो ।'
उक्त घटनाको छानबिन भइरहेको अवस्थामा पनि सरकारमाथि प्रश्न उठाइएको भन्दै उनले थपे, मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमानदारितापूर्वक समर्थन गर्न डराउनु हुँदैन ।
'भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन । नेपालको नागरिकहरूको साझा विषय हो ।'
राजनीतिक दलहरू साझा संकल्पका साथ भ्रष्टाचाविरुद्ध लाग्नुपर्ने पौडेलको भनाइ थियो । यस्ता विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गरेर जान नहुने उनले बताए ।
सांसद पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ती शुद्धीकरण विभाग जस्ता राज्यका निकाय सुस्ताएर बस्न नहुने पनि बताए । उनले थपे, यी संस्था चुप लागेर बसे मिलेमतो छ भन्ने बुझ्नुपर्छ ।