काठमाडौँ, बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् ।
सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ,' प्रधानमन्त्री दाहालले भने, 'सुशासन भन्नेबित्तिकै बेथिति विकृति भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।'
आफूले मजदुरहरूको महाधिवेशनमै भ्रष्टाचारको फाइल खोल्ने घोषणा गरेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले भने, 'मजदुरहरूको महाधिवशेनमा घोषणा गरेको थिएँ । ' अब भ्रष्टाचारीको फाइल खोलिन्छ ।
कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ । सिंगै फिलिम देखिनेवाला छ ।"
भ्रष्टाचारविरुद्ध कारबाही चाल्दा ठूला-ठूला धम्की आउने सम्भावना रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । 'ठूल्ठूला घेराबन्दी होलान्, दबाब आउलान्, धम्की आउलान्, धेरै चिज हुनेवाला छ यसबीचमा ।'
श्रमजीवी साथमा भए भने जतिसुकै ठूला घेराबन्दी पनि सामना गरिनेछ,' प्रधानमन्त्री दाहालले भने । लामो समयदेखि कायम रहेको गलत नीति र संस्कारकै कारण नेपालमा आर्थिक संकट निम्तिएको पनि उनको दाबी छ । उनले अगाडि भने, 'आज आर्थिक समस्या र दबाबको सामना गर्नुपरेको छ ।'
'यो रातारात बनिएको होइन । लामो समयदेखिका गलत नीति संस्कार शैली मुख्य संस्थागत भ्रष्टाचारका कारणले नै नेपालको आजको आर्थिक संकटको स्थिति बनेको हो । यसको निराकरणका निम्ति सुशासन कायम गर्नैपर्छ ।'