२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोलामा दुर्घटना

शुक्रवार , बैशाख २२, २०८०

 

संखुवासभा , बैशाख । संखुवासभाको भोटखोला ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले जानकारी दिएका छन ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए । उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, लुक्लामा रहेको सिम्रिक एयरको अर्को हेलिकप्टर पनि उद्धारका लागि घटनास्थलतर्फ गएको छ । प्रवक्ता सिटौलाले हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी आएको बताए ।

यो हेलिकप्टरले विद्युत्‌का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो । संखुवासभा विमानस्थल प्रमुख कोइरालाका अनुसार, दुर्घटनास्थल खाँदबारी विमानस्थलबाट २० मिनेटको हवाई दूरीमा पर्छ ।

सिम्रिकको हेलिकप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ हिजै बेलुकी गएको थियो । त्यहाँ शुक्रबार बिहानदेखि विद्युत्‌का सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार