काठमाडौँ, चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले भने, विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसके ।
नेपालमा विदेशी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको उनको भनाइ थियो । उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेको भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए । उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिले पनि संकटमा छ ।
विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०र६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् ।’
नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, गृहमन्त्री बनाउने काम सरकारले गरेको भन्दै अध्यक्ष केसीले निर्वाचन आयोगले पनि त्यस्तै गरेर ऐन, कानुनलाई ठाडै उल्लंघन गरेको टिप्पणी गरे ।
अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे । उनले संसदीय व्यवस्थामा संसद्को ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भए पनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए ।
‘नेपालमा यस्तो हुन्न भनेर भन्न सकिन्न । सामान्य संसदीय प्रणालीको कुरा गर्ने हो भने त संसद्भित्रको सबभन्दा ठूलो पार्टीले नेतृत्व गर्नुपर्ने हो । मान्दैनन् संसदीय व्यवस्था यिनीहरुले । संसदीय व्यवस्थाका भक्त देखाउँछन् ।
यदी ठूलो पार्टीले नसके त त्यसभन्दा तल्लो ७९ सिटवालाले गर्ने हो नि नेतृत्व त । अब यी ठूलाका लडाइँ, षड्यन्त्र, जालझेल सबैले गर्दा प्रतिपक्ष हुने पार्टी सत्तामा भएको छ । उल्टो गंगा त यसै बगेको छ नि । त्यसो भएर नेपालको राजनीतिमा यही हुन्छ भनेर ठोकुवा गर्नै सकिन्न ।’
उनले आगामी दिनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए ।