२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बर्तमान संयुक्त सरकार  

सभापति देउवाले भने  : 'कांग्रेसले सोचे अनुसार काम गर्नसक्ने अवस्था छैन' 

'अहिलेको अवस्थामा गठबन्धन नै आवश्यक '

मंगलवार , चैत्र २८, २०७९

 

काठमाडौँ, चैत । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्नसक्ने अवस्था नभएको बताएका छन् । तर आफूहरुले सोचे अनुसारको काम गर्न कांग्रेसलाई फेरि बहुमत चाहिने उनको भनाइ थियो ।

सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिनसक्ने बताएका हुन्  मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्नसक्ने अवस्था नभएको पनि बताए ।

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्न बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न  पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । सभापति देउवाले संविधान अनुसार सरकार बनाउन पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको दोहोर्‍याएका थिए ।

‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्नसक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन ।

तैपनि भोलि हामी सबै मिलेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ । त्यस कारण अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ, सभापति देउवाले भने । 

अहिलेको अवस्थामा गठबन्धन नै आवश्यक रहेको भन्दै यसले आफ्नो पार्टीलाई अगाडि बढ्न बल पुगेको पनि उनको भनाइ थियो । यस क्रममा उनले कांग्रेस अझै बलियो बनाउनुपर्ने र यसका लागि शिक्षकहरूको भूमिका रहने बताए । साथै नेपाली कांग्रेसको ठाउँठाउँमा संठगनमा देखिएको समस्या समाधान गर्न जरुरी रहेको उनले बताएका थिए।

सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने पनि आश्वासन दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार