काठमाडौँ, चैत । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिएका छन् । संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेस सहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले बताए ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे । ५ वर्षपछि कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने उनले बताए ।
उनले भने, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु– 'म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार, ४ सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । '
अघि पूर्वप्रधानमन्त्रीले भनेर गइसक्नु भएको छ । त्यो ठीक, बेठीक छौंडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अब कसैलाई दोष दिएर पाइँदैन । अब भूतप्रेतलाई भनेर पनि पाइन्न ।
भूतपूर्वराजालाई भनेर पनि पाइन्न । अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ । अवको पाँच वर्षपछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली कांग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त ।
जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । ५ वर्ष देशको सरकार कसले चलाउने रुकांग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अब कसैलाई दोष पन्छाएर पाइन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौं ।’
महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे । शिक्षकहरुलाई खुसी नबनाइ मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
महामन्त्री थापाले भने, ‘अबको ३र४ महिना भित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ । ऐन त पारित गर्ने र तर ठीक बनेन भने के गर्ने रु यो ऐनले समस्या समाधान गर्नुपर्यो । अब स्कुल मर्जर गरेर नगई हुँदैन । ठूल्ठूला विद्यालय चाहिन्छ ।
फन्डिङ त्यहीअनुसारको चाहिन्छ । शिक्षकलाई खुसी बनाउने गरी उनीहरुको तलब, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ । अनि मात्रै शिक्षकहरुको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ ।’
महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे ।