चितवन, चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन ।
गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरूबीच द्वन्द्व हुन नहुने बताएका छन ।
देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने उनको भनाइ छ । उनले भने, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।”
आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उनले बताए । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उनको जिकिर थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गरे । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उनले बताए ।
उनले भने, “घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उनले थपे, “हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।” घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उनले अनुरोध गरे ।
वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो । उनले भने, “यो पटक वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।”
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीभित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताए । कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुने भन्दै उनले उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित निकाल्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुर ढकाल, गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्ण न्यौपानेलगायतले बोलेका थिए ।
कांग्रेस र एमालेले गराए मनोनयन दर्ता
नेपाली कांग्रेस र नेकपा (एमाले) चितवनले आगमी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । दुवै दलका उम्मेदवारले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र एमालेका तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराए ।
श्रेष्ठको प्रस्तापकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी समर्थक रहेका छन ।
उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै श्रेष्ठले चितवन निर्वाचनको प्रयोगशाला नभएको बताए । उनले भने, “चितवनका मतदाता सधैँ मतदान गरेर मात्र बस्ने हो ।”
उपनिर्वाचनमा काङ्ग्रेसले जीत हासिल गर्ने भन्दै उहाँले अहिलेको प्रतिस्पर्धा कांग्रेस र एमालेबीचको हुने बताए । श्रेष्ठको उम्मेदवारी मनोनयनका क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिनाको उपस्थिति रहेको थियो ।
१२ दलसहित २४ जनाको उम्मेद्वारी दर्ता
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार १२ वटा राजनीतिक दलका उम्मेदवार र १२ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको जानकारी दिए ।